संघमा दुईवटा सदन काम छैन, राष्ट्रियसभा खारेज गरौँ


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

वडा तहदेखि प्रतिनिधिसभासम्मका सदस्यहरू कटौती गरेर खर्च कम गर्नुपर्ने उनको भनाइ छ । उनले प्रतिनिधिसभा भइसकेपछि राष्ट्रियसभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे ।

उनले भने, “नेपाल जस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काडेर तलब भत्ता खुवाउनुपर्ने परिस्थिति छ । यो जनप्रतिनिधिहरूको संख्या कटौती गर्नुपर्छ । अनावश्यक तह जस्तो प्रदेश कुने काम नै छैन, प्रतिनिधिसभा र राष्ट्रियसभा दुईवटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रियसभा खारेज गर्ने प्रतिनिधिसभा सदस्य घटाउनुपर्छ ।”

उनले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रूपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताए । उनले सेना बिनाको राज्य बनाउने प्रस्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *