सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर
अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशत अर्थात २४ लाख ९८ हजार ४० कित्ता आईपओि सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ भने आयोजना प्रभावित स्थानीयमा २ लाख ६ हजार ७६० कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।
स्थानीयका लागि छुट्याएको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याईएको थियो । स्थानीयमा वितरण हुन नसकेको शेयर समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म शेयर माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री अवधि छिटोमा साउन २२ गतेसम्मको लागि तोकिएको छ । तोकिएको छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन ३२ गतेसम्म विक्री अवधि लम्बिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रूपैयाँ रहेको छ । प्रतिमेगावाट अनुमानित लागत भने २३ करोड ६८ लाख ४ हजार रूपैयाँ रहेको छ ।