लक्ष्यको ७५ प्रतिशत मात्रै संकलन भयो आन्तरिक राजस्व
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको ११ महिनासम्ममा चार खर्ब ८ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७५.३२ प्रतिशत हो । यस अवधिमा विभागले पाँच खर्ब ४२ अर्ब ५३ करोड ४१ लख रुपैयाँ राजस्व उठाउन लक्ष्य लिएको थियो ।
त्यसो त चालू आर्थिक वर्षमा राजस्व संकलनमा निकै कमजोर देखिएको विभागले गत आवको सोही अवधिमा चार खर्ब १० अर्ब ४३ करोड २ लाख संकलन गरेको थियो ।
विभागले जेठ मसान्तसम्म आयकर शीर्षकबाट एक खर्ब ७० अर्ब ४२ करोड १४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, घरहाल कर शीर्षकबाट दुई अर्ब ३९ करोड ७९ लाख १३, ब्याजबाट ३१ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
त्यस्तै, यस अवधिमा भ्याटबाट ९९ अर्ब ४१ करोड ८० लाख रुपैयाँ, अन्तशुल्क शीर्षकबाट ९६ अर्ब ९० करोड ९३ लाख रुपैयाँ, स्वास्थ्य सेवाबाट ६ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ र शिक्षा शीर्षकबाट एक अर्ब ६६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
विभागले चालु आवको जेठ महिनामा ३६ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस महिनाको लागि विभागले ५३ अर्ब १० करोड ४६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, विभाग लक्ष्यको ७० प्रतिशत समेत राजस्व संकलन गर्न असफल भएको छ ।