सभापति देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तान्तरणका लागि पनि कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा मंगलबार मोरङको सुन्दरहरैंचामा सहभागी हुन आउने क्रममा विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै थापाले भने,“अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो । त्यसैले अब सभापतिले प्रधानमन्त्री वा अन्य पदमा दाबी गर्नु हुँदैन ।”
वरिष्ठ नेता शेखर कोइराला सभापति शेरबहादुर देउवासँग मिलेर त्यतै लागेको हो भन्ने पत्रकारको प्रश्नमा थापाले आफूहरुसँगको सम्बन्धमा कुनै फेरबदल नभएको जिकिर गरे । “१४ औँ महाधिवेशनदेखिको सबन्धमा अहिलेसम्म पनि प्रगाढ छ । १५ औ महाधिवेशनमा थप साथीहरु जोडिनु हुनेछ । भएकाहरु पनि हामीसाथै रहनु हुनेछ । गुम्नु हुने छैन ।”
नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको भन्दै सभापतिले दुवै पद छाड्न मार्ग प्रशस्त गर्नुपर्ने बताए ।