वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउने

नेपाल बैंकर्स संघले अन्ततः व्यवसायहरूको लागि खुसीको खबर सम्प्रेषित गरेको छ । मंगलबार बिहान बसेको वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरूको बैठकले आगामी असार महिनाको लागि कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो ।
सो बैठकले निक्षेपमा दिँदै आएको ब्याजदर भने हालकै अवस्थाका कायम राख्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आर्थिक न्युजसँग भने, ‘बेसरेट घट्दो छ । सरकारले पनि ट्रेजरीमा ब्याजदर घटाउँदै छ । जसका कारण लगानीमा ब्याजदर घटाउने निष्कर्षमा पुगेका छौँ ।’
निक्षेपकर्ताले प्राप्त गर्दै आएको ब्याजदरमा भने कुनै फेरबदल नहुने समेत उनले जानकारी दिए । संघको निर्णय अनुसार अब बैंकहरुका ब्याजदर बेसरेटका आधारमा घट्नेछ । अहिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर रहेको छ ।
उद्योगी व्यवसायीहरूले कर्जाको ब्याजदर अत्यन्तै महँगो भएको भन्दै गुनासो गर्दै आएका छन् । पछिल्लो समयमा महँगो ब्याजदरलाई कारण देखाउँदै व्यवसायीहरूले ऋणको माग समेत नगरेपछि वाणिज्य बैंकहरुमा सवा तीन खर्ब भन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । फलस्वरूप वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८४ प्रतिशतमा झरेको छ भने वाणिज्य बैंकहरु अधिक तरलताको अवस्था छन् ।