म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जानेहरुबाट लिएको रकमको कर तिर्नुपर्ने
म्यानपावर व्यवसायीले अब वैदेशिक रोजगारीमा जानेहरुबाट आफुले लिएको सम्पूर्ण रकमको कर तिर्नु पर्ने भएको छ। म्यानपावर व्यवसायीले आफुले लिएको सम्पूर्ण रकममा वैदेशिक रोजगार सेवा शुल्क तिर्नु पर्ने छ ।
यसबारे आर्थिक विधयेकमा उल्लेख गरिएको छ । आर्थिक विधयेकको दफा २३ मा यसबारे उल्लेख गरिएको छ । जसमा भनिएको छ ‘प्रचलित सङ्घीय कानून बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नु पर्नेछ। त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिनेछ।’
यस अघि म्यानपावर व्यवसायीले फ्रि भिसा र फ्रि टिकट अन्तर्गत कामदारबाट जति रकम लिएको भए पनि १० हजारको मात्र लिएको भनि बिल दिने गरेका थिए। अब भने म्यानपावर व्यवसायीले लिएको सबै रकमको बिल दिनु पर्ने छ भने आफुले लिएको सम्पूर्ण रकममा वैदेशिक रोजगार सेवा शुल्क तिर्नु पर्ने छ ।
यो व्यवस्था कार्यन्वयनको लागि अर्थमन्त्रीले श्रम मन्त्री आवश्यक सहजीकरण गरिरहेका छन् । केहि दिन भित्र नै श्रम मन्त्रालयले यस बारे निर्देशन जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।