मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।
यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।
बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १ सय ४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ ।
मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो । झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो।
स्थानीय सञ्चार माध्यमकाअनुसार मणिपुरको कुल जनसङ्ख्याको करिब ५३ प्रतिशत मेइतेई समुदायका मानिसहरू छन् र ती अधिकांश इम्फाल उपत्यकामा बस्छन्। त्यसैगरी नागा र कुकी समुदायका जनजातिको जनसङ्ख्या ४० प्रतिशत छ र तिनीहरू राज्यका पहाडी जिल्लाहरूमा बसोबास गर्छन्।
हाल शान्ति र अमनचैन कायम गर्न भारतीय सेना र अर्धसैनिक असम राइफलका १०,००० भन्दा बढी सुरक्षाकर्मीहरू त्यहाछ तैनाथ गरिएको छ ।