शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले योगदान गर्नुपर्छ
कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि सबैले योगदान गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ वर्ष देखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दल विशेष मात्रै नभई सबैले योगदान गर्नुपर्ने बताएका हुन् ।
शान्ति प्रक्रियाको विषय सबै दलहरूको साझा विषय भएकाले सबैसँगको समझदारीमा नै यसलाई निष्कर्षमा पुराउने उनले बताए ।
त्यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिँदै मन्त्री गुरुङले छानबिन प्रतिवेदनका आधारमा पीडितलाई न्याय दिने बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा प्राप्त हुने सुझावले यस विधेयकलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे ।
उक्त विधेयकमाथि समितिको अर्को बैठकबाट छलफल सुरु हुने बताइएको छ । बैठकले समितिको कार्यविधिलाई पारित गरेको छ । कार्यविधिमा विना जानकारी ५ पटकसम्म बैठकमा अनुपस्थित हुने सांसदलाई निष्कासन गर्ने सक्ने व्यवस्था समावेश गरिएको छ ।