नक्कली शरणार्थी प्रकरणबारे विश्वप्रकाशले मागे सरकारको जवाफ
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धानको प्रक्रियाबारे जवाफ दिनुपर्ने बताएका हुन् ।
सांसद शर्माले सरकारले नक्कली शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्ने बताए ।
“नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ । दोषीहरू कोही नछुटून्, निर्दोष कोही नफसून भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौँ, सबै सहमत नै छौँ । यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ,” उनले भने ।