एकै दिन ६ कम्पनीको संस्थापक शेयर विक्रीमा


शुक्रवार एकै दिन ६ कम्पनीले २८ लाख ८५ हजार ३९५ कित्ता संस्थापक शेयर विक्रीका लागि सुचना जारी गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल, नागरिक लगानीकोष, कुमारी बैंक, प्रभु बैंक, सूर्योदय वोमी लघुवित्त र नयाँ सारथी लघुवित्तले संस्थापक शेयर विक्रीका लागि सुचना जारी गरेका हुन ।

सिटिजन्स बैंक इन्टरनेशनलले १८ हजार ३७६ कित्ता संस्थापक शेयर प्रतिकित्ता रू. १३३ र १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी विक्रीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्न बैंकले विद्यमान संस्थापकहरूमा आग्रह गरेको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेमा उक्त शेयर सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।

६ कम्पनीमध्ये नागरिक लगानीकोषको २४ हजार कित्ता शेयर भने सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कोषले प्रतिकित्ता रू. ७१३ मूल्य अंकित गरी लिलामीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले वैशाख २१ गते कार्यालय समयभित्र गोप्यशिलबन्दी बोलपत्र पेश गर्न कोषले आग्रह गरेको छ ।

कोषले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था गरेको छ । यो शेयर खरीद गर्ने लगानीकर्ताले कोषद्वारा वैशाख १५ पछि घोषणा हुने हकप्रद शेयर, बोनस शेयर र नगद लाभांश समेत प्राप्त गर्ने जानकारी कोषले गराएको छ ।

कोषको शेयर खरीदका लागि विक्री प्रबन्धक एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौं र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ । कोषको यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यी बाहेक कुमारी बैंकको २४ लाख ८५ हजार ३३५ कित्ता, प्रभु बैंकको २ लाख १३ हजार ४८ कित्ता, सूर्योदय वोमी लघुवित्तको १ लाख २० हजार २९५ कित्ता र नयाँ सारथी लघुवित्तको २२ हजार ८३१ कित्ता संस्थापक शेयर भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । यी कम्पनीहरूले पनि ३५ दिनको अवधि तोकेर विद्यमान संस्थापक शेयरधनीहरूबाट गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेका हुन ।

सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा तोकिएको अवधिभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्नेछन् । पछिल्लो समय संस्थापक शेयरहरू विक्रीमा आउने क्रममले निरन्तरता पाएको छ । धितोपत्र दोस्रो बजार घटिरहेको अवस्थामा संस्थापक शेयरधनीहरूले लिलामी प्रक्रियाबाट शेयर विक्री गरिरहेको विक्री प्रबन्धकहरूको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *