नौ महिनामा एक अर्ब बढी उठ्यो पुँजीगत लाभकर

चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म एक अर्ब रुपैयाँ बराबरको पुँजीगत लाभकर उठेको छ । शेयरबजारका लगानीकर्ताहरुले साउनदेखि चैत मसान्तसम्म सरकारलाई एक अर्ब १ करोड २७ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएको सिडीएस क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिएका हुन् ।
निरन्तर रुपमा शेयरबजार घटेसँगै पुँजीगत लाभमा पनि त्यसको असर परेको उनले बताए । सिईओ आचार्यका अनुसार शेयर बजारको कारोबारको आधारमा नभई इन्डेक्सको आधारमा पुँजीगत लाभकर संकलन हुने गर्छ ।
चालु आवको साउन महिनादेखि चैत मसान्तसम्म शेयरबजार ७६.९२ अंकले घटेको छ । साउन १ गते २ हजार ११ दशमलव ३९ बिन्दुमा पुगेको शेयर बजार चैत मसान्तसम्म आइपुग्दा ७६.९२ अंकले घटेर एक हजार ९ सय ३४ दशमलव ४८ बिन्दुमा आइपुगेको छ ।
साउन महिनादेखि तीव्र उचारचढाव आइरहेको शेयर बजार पुसमा नयाँ सरकार गठन भएसँगै उच्च अंकले बढेको थियो । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडैल आउने भएपछि नेपाल स्टक एक्सचेञ्ज नेप्से ५६.८६ अकंले बढेर एक हजार ९ सय २४ दशमलव ०७ बिन्दुमा पुगेको थियो ।
शेयर बजारप्रति सकारात्मक व्यक्ति अर्थमन्त्ती बनेपछि बजारले गति लिन्छ भन्नेमा लगानीकर्ताहरु ढुक्क थिए । तर, लगानीकर्ताको अपेक्षाअनुसार बजारले सकारात्मक गति भने लिन सकेन । गत माघ २४ गते मंगलबार ७६ अंकले बढेको थियो भने तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता भने शेयर बजार फेरी घट्न थाल्यो ।
चालु आवको चैत २९ गते भने शेयर बजारमा उछाल आएको थियो । सो दिन नेप्से ९२.२२ अंकले बढेर एक हजार ९ सय ६३ दशमलव ५५ बिन्दुमा बन्द भएको हो । सो दिन एक अर्ब ९२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, चैत ३० गते भने नेप्से २९.०७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलव ४७ बिन्दुमा बन्द भएको छ ।