कांग्रेसभित्र व्यक्तिवादी चरित्र हाबी भयो : डा. शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस बीपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी हुँदा विचारको राजनीति कमजोर बन्दै गएको बताए ।
बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली कांग्रेसले छाड्न नहुने उनको भनाइ थियो ।
“विचारविनाको राजनीतिबाट कुनै गन्तव्यमा पुग्न सकिँदैन,” उनले भने, “पार्टीको आउँदो १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीका रूपमा विकास गर्नुपर्छ ।”
नेपाली कांग्रेस प्रजातन्त्रप्रति विश्वास राख्ने पार्टी हो भन्दै नेता कोइरालाले कांग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैँ प्रतिबद्ध रहेको कुरामा कसैसँग सम्झौता नगर्ने बताए ।