२५ करोडभन्दा कम पुँजी भएका कम्पनी अब एसएमई प्लेटफर्ममा
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले बिहिबार मस्यौदा सार्वजनिक गरेको हो ।
मस्यौदामा यस नियमावली बमोजिम धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा पच्चीस करोड रुपैयाँ हुनुपर्ने उल्लेख छ । तर साना तथा मझौला संगठित संस्थाको उपस्थिती र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।
बोर्डले १५ दिन भित्र मस्यौदामा राय सुझाव पेश गर्न भनेको छ ।
बोर्डले लामो समयदेखि साना तथा मझौला कम्पनीको शेयर कारोबारको लागि छुट्टै एसएमई प्लेटफर्म संचालन गर्न चाहेको थियो । बोर्डले सो को लागि व्यवस्था गर्न नेप्सेलाई निर्देशन पनि दिएको थियो । तर नेप्सेले प्रष्ट कानुनी आधार नभएसम्म एसएमई प्लेटफर्म संचालन गर्न नसकिने बताएपछि कानुनी सुधार गरेर नियमावली मै यसलाई समावेश गर्न लागेको हो । कम पुँजी भएका कम्पनीलाई एसएमई प्लेटफर्ममा राखेर एसएमई प्लेटफर्मको छुट्टै इन्डेक्स बनाएर कारोबार गराउने तयारी बोर्डले गरेको हो।
अहिले सबै खालको कम्पनीलाई एकै ठाउँमा राखेर कारोबार गराउंदा बाघ र बाख्रालाई एकै खोरमा राखेको जस्तो भएकोले अब एसएमई प्लेट फर्म आएपछि त्यस्तो नहुने बोर्ड अध्यक्ष हमालले बताएका छन् ।