एमालेलाई कमजोर बनाउने खेल भयो
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका छन् ।
एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् ।सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गर्दै अध्यक्ष ओलीले ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताए । सुरुदेखि हालसम्म एमाले सरकारमा रहेका बेला देशको विकास र समृद्धिमा असाधारणमा काम गरेको उनको भनाइ छ ।
एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष ओलीले त्यसतर्फ सचेत रहन पनि कार्यकर्तालाई निर्देशन दिए । उनले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको आरोप लगाए ।