आज उमेदवारविरुद्धको उजुरीमा जाँचबुझ र अन्तिम नामावली प्रकाशन
उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो ।उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै नेकपा एमालेले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएको हो । राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको एमालेको जिकिर छ ।
रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपति पदकी उमेदवार ममता झाले पनि उजुरी दिएकी छन् । झाले राष्ट्रपति खस आर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उमेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् । यादवसँगै जनता समाजवादी पार्टी नेपालबाटै प्रमिला यादवको उमेदवारी परेको छ । रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको पनि उमेदवारी परेको छ ।
उपराष्ट्रपचि चउनका लागि चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।