यूएईमाथि सनसनीपूर्ण जित निकाल्दै नेपाल यू–१९ विश्वकपमा


यूएईमाथि झिनो जित निकाल्दै नेपालले श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएको छ। यूएईस्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा यूएईमाथि ७ रनको झिनो जित निकाल्दै नेपालले श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई ४८औं ओभरको समाप्तीमा १८४ रनमा समेटियो। यूएईलाई हराएको नेपाल छनोटको शीर्षस्थानमा रहँदै विश्वकपमा छनोट भएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएर पहिलो बलमै ओपनर दीपक बोहोरालाई गुमाएको नेपालले अर्का ओपनर अर्जुन कुमाललाई पनि ३ रन बनाउँदै गुमायो। त्यस्तै तेस्रो विकेटका रुपमा आकाश त्रिपाठी ९ रनमा पभेलियन फर्कँदा धर्मराएको नेपालको पारिलाई कप्तान देव खनाल र उत्तम रंगु थापाले ८४ रनको साझेदारी गर्दै सम्हालेका थिए। खनालले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा मगरले ३६ रन बनाए। त्यस्तै विशालविक्रम केसीले ३८ रन र हेमन्त धामीले १३ रन बनाउँदा मिलन बोहोरा र दीपेश कँडेलले समान १० रन बनाए।

बलिङतर्फ यूएईका ध्रुव परासरले सर्वाधिक ३ विकेट लिँदा आयन अफ्जल खान र हरित हरिस सेट्टीले समान २ तथा हर्षित सेठ र अमर बदामीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै सानदार सुरुवात गरेपनि फिनिसिङमा भने कमजोर प्रदर्शन रह्यो। यूएईका लागि इथान कार्लले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा ओपनर आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२ तथा ध्रुव परासरले १७ रनको योगदान दिए।

बलिङतर्फ नेपालका दीपेश कँडेलले सर्वाधिक ५ विकेट लिँदा हेमन्त धामी र सुवास भण्डारीले समान २ विकेट लिए। अन्तिम ओभरमा जितको नजिक पुगेको यूएईलाई हराउन दीपेश कँडेलले ह्याट्रिक विकेट लिए। उनले ४८.३, ४८.४ र ४८.५ ओभरमा क्रमश हर्षित सेठ, हरित सेठ्ठी र मोनिस गजेसको विकेट लिएका थिए। उनले लगातार तीन विकट लिँदा जितको नजिक पुगेको यूएई अलआउट हुन पुगेको हो।

प्रतियोगितामा नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालले सिंगापुरमाथि ९६ र कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो। त्यस्तै, तेस्रो खेलमा हङकङलाई ९ विकेटले र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *