गठबन्धन पाँच वर्ष टिक्छ, समझदारी पूरा हुन्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सबैले प्रधानमन्त्रीलाई बल पुर्याउनुपर्ने बताए। ‘पाँच वर्ष गठबन्धन तलमाथि हुँदैन। भनिएका समझदारी पूरा हुन्छ। त्यसैले यहाँ चकचक गर्ने, आज यता भेट्ने, उता भेट्ने, सबै बन्द गर्नुपर्छ’, उनले भने, ‘ढोका झ्याल बन्द गरेर, कोठाभित्र बसेर अब गरिएको समझदारी पालना गर्ने, प्रधानमन्त्रीलाई मद्दत गर्ने, बल पुर्याउने, सरकारलाई सफल बनाउने काम गर्ने। र, परिणाम दिने। यति काम गरियो भने पुग्छ।’
उनले सबैलाई पुस १० गते गल्ती भएको बोध भएको बताए। ‘खासगरी संसद्को पहिलो बैठकमा एमालेका अध्यक्षले संसद् विघटन गरेको सही थियो र पटकपटक विघटन हुन्छ भन्नुभयो। त्यही दिनबाट पुस १० गतेको गठबन्धन टिक्दैन र टिक्नुहुँदैन भन्ने कुराको राजनीतिक सोच सबैलाई परेकै हो, भएकै हो। त्यसैले आज जे भएको ठीक भएको छ। जे भएको छ, यो हुनुपर्ने थियो’, उनले भने।
थापाले पुस १० गते बनेको गठबन्धन अप्राकृतिक, अस्वाभाविक र अवाञ्छित भएको बताए। निर्वाचनमा गरिएका वाचा पूरा नगर्दा दुर्घटना भएको थापाको भनाइ छ।
‘निर्वाचनमा हामीलाई मतदान गर्नुहोला। पाँच वर्ष हामी शान्ति, स्थिरता र समुन्नति दिन्छौँ भन्ने वाचा गरेका थियौँ। तर, पुस १० गते हामीले त्यो वाचा अनुसारको कर्म गर्न नसक्दा नेपाल एउटा दुर्घटनामा गयो’, उनले भने, ‘नेपाली कांग्रेस ठूलो पार्टी भएकाले गर्दा अरुलाई यसको दोष दिएर हुँदैन। यसमा हाम्रो नै कमजोरी रह्यो। र, पुस १० गते एउटा दुर्घटना भयो। नहुनुपर्ने थियो।’