आलोपालो प्रधानमन्त्री बन्ने कुरा हल्ला,सहमति खोल्ने बेला भएको छैन :माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै उनले ती समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमालेलगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताए ।
“नेपालमा जस्तो किसिमको चुनौतीहरू देखिएका छन्, ती चुनौतीहरू सामना गर्नलाई देशका सबै राजनीतिक दलहरू एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो । मिलेर जानुपर्छ । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरू एक भएर जानुपर्छ । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो निजी कुरा हो,” उनले भने ।
अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू भएको टिप्पणी गरे । आफूहरूका बीचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाइ छ ।