सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष टिक्ने मुख्यमन्त्री शाहको दाबी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने दाबी गरेका छन्। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताए।
‘सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ। चाँडै नै हामी टुङगोमा पुग्छौ,’ मुख्यमन्त्री शाहले भने। प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउँदै शाहले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पारे। उनले जनताको भावनाअनुसार नै आफू नेतृत्वको सरकार अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको बताए। प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने उनको भनाइ छ।
कांग्रेस संसदीय दलका नेता शाह पुस २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले अहिलेसम्म प्रदेश सभाबाट विश्वासको मत लिएका छैनन्। कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूर पश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्।