राष्ट्र बैंकले २ अर्ब बढिको नागरिक बचतपत्र जारी गर्ने
नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले चैत ६ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्न लागेको हो ।
बचतपत्रको ब्याजदर ११.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार सो बचतपत्रको ब्याजदर ६/६ महिनामा भुक्तानी हुनेछ । उक्त व्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकएिको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्नेछ । नखुलाएको प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र दिइने बैंकले जनाएको छ ।
रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रहकम बिना ब्याज निष्काशन मितिको ७ दिन भित्र फिर्ता गरिने बैंकले जनाएको छ ।