प्रधानमन्त्री आफू, राष्ट्रपति र सभामुख एमालेलाई भन्ने प्रचण्डकै प्रस्ताव हो
नेकपा एमालेका सचिव योगेश भट्टराईले गत पुस १० मा आफू प्रधानमन्त्री बन्ने र राष्ट्रपति र सभामुख एमालेलाई भनेर पुष्पकमल दाहाल प्रचण्डले नै प्रस्ताव गरेको बताएका छन्।
शनिबार प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले त्यतिबेला प्रचण्डले प्रधानमन्त्री र सभामुख आधाआधा गर्ने प्रस्ताव गरेको पनि बताए।
‘उहाँ (प्रचण्ड) ले नै प्रस्ताव के गर्नुभयो भने, पाँच वर्षमा आधा–आधा गरौं। पहिलो चरणमा म प्रधानमन्त्री हुन्छु, किनभने ‘पहिलो चरणमा म प्रधानमन्त्री हुन्छ भन्ने कुरा कांग्रेसले मानेन, त्यसैले म छोडेर आएँ नि त’ भन्नुभयो। त्यसो भए ठीक छ, कांग्रेसले मानेन भने हामी मान्छौं भनेर मानेको हो’, उनले थपे, ‘त्यसो भए उहाँले नै यो गठबन्धनको ठूलो पार्टी एमाले हुन्छ। एमालेले राष्ट्रपति र सभामुख लिनुस्। उहाँले भनेको हो। सभामुख पनि आधा–आधा गरौं भन्ने उहाँको कुरा हो।’
भट्टराईले पुस १० मा प्रचण्ड एमालेलाई खोज्दै आएको बताए। उनले भने, ‘जब उहाँ बालुवाटारबाट निस्किनुभयो। उहाँले हामीलाई खोज्नुभयो। हामी बसिरहेकै थियौं। कोही आउनुभयो भने हमी साथ दिन्छौं भनेर बसिरहेका थियौं। प्रचण्ड कमरेडलाई हामीले नत्थी लगाएर तानेको होइन। उहाँ हामीलाई खोज्दै आउनुभएको हो।’
प्रचण्डकै त्यतिबेलाको प्रस्तावलाई एमालेले मानेको र आफूहरुलाई त्यसमा आपत्ति नभएको भट्टराईको भनाइ छ।