माघ महिनामा परे दुई हजार सात सय ऋणी कालोसूचीमा


अघिल्लो महिना अर्थात् माघ महिनामा दुई हजार सात सय भन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार माघ ३ गतेदेखि २९ गतेसम्मको २६ दिनको अवधिमा दुई हजार सात सय ८१ व्यक्ति तथा कम्पनीहरू कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कालोसूचीमा राख्ने गर्छ । यसरी समयमा ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा संस्थाको सङ्ख्या बढ्दो देखिन्छ ।कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार गत माघ महिनामा कृषि फार्मदेखि उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेका छन् । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका छन् ।

गत माघ महिनामा सञ्जीवनी अस्पताल एन्ड आइभिएफ सेन्टर प्राइभेट लिमिटेड समेत कालोसूचीमा परेको छ । यस हस्पिटलका सञ्चालक अञ्जु देव, बरुण देव, दिवाकर यादव र पवन पराजुली रहेका छन् । सोही दिन हिलपार्क कृषि तथा पशुपन्छी फार्म, रोयल रमा इन्टरप्राइजेज, कोरियन होम कन्स्ट्रक्सन, नेपाल बालुवा प्रशोधन उद्योग लगायत व्यक्ति तथा कम्पनीहरू कालोसूचीमा परेका छन् ।त्यस्तै, यस महिना ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन, मुक्तिनाथ आल्मोनियम, फ्रेब्रिकेसन प्राली, साइनी डेन्टल सर्जिकल हाउस, माउन्टेन डिष्ट्रिलरी एन्ड डिष्ट्रिब्युटर, प्राली, ओमबुद्ध हस्पिटल एन्ड हेल्थ साइन्स सेन्टर र डिभाइन कृषि विकास केन्द्र प्राली कालोसूचीमा परेका छन् । यसका साथै यस अवधिमा जलजला बचत तथा ऋण सहकारी संस्था समेत कालोसूचीमा परेको छ । यसका सञ्चालक जयप्रकाश श्रेष्ठ र सुमित्रा देवी राई रहेका छन् ।

त्यसैगरि, तिनाउ वाटर पार्क एन्ड पार्टी प्यालेस, सुयोग मल्टीपर्पोज को अपरेटिभ लिमिटेड, ग्लेसियर इन्टेरनेशनल स्कुल एन्ड कलेज, काठमाडौं खाद्य ट्रेडर्स, सुनकोसी दाना चल्ला एन्ड मासु पसल, सान इँटा उद्योग प्राली र विद्रोह पपअप ग्यालरी एन्ड बार लगायत व्यक्ति तथा कम्पनीहरू गत माघ महिनामा कालोसूचीमा परेका छन् ।

यसरी कालोसूचीमा पर्नेहरूको सूची हेर्दा सबै प्रकारका व्यापार व्यवसायहरु सङ्कटमा परेको देखिन्छ। निर्माण व्यवसायी मात्र होइन की सहकारीदेखि कतिपय उपभोक्ता समिति समेत रहेका छन्। ठूला उद्योगदेखि साना व्यवसायी र व्यक्तिहरू समेत यसरी ठूलो सङ्ख्यामा कालो सूचीमामा पर्नुलाई विश्लेषकहरूले गम्भीर रूपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *