ओलीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह- राष्ट्रपतिमा राष्ट्रिय व्यक्तित्व खोजौं
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिमा राष्ट्रिय व्यक्तिको खोजी गर्ने प्रस्ताव राखेका छन् ।
आज बिहान बालुवाटारमा भएको भेटमा उनले आफू प्रधानमन्त्री बन्दा राष्ट्रिय सहमति जस्तै भएको भन्दै सोही अनुसार राष्ट्रपतिमा पनि प्रयत्न गर्ने प्रस्ताव राखेका हुन् ।
“प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जस्तै जुट्यो । राष्ट्रपतिमा पनि त्यसरी नै राष्ट्रिय सहमति जुटाऔं । विश्वका अन्य राष्ट्रमा जस्तै राष्ट्रिय सहमति जुट्ने व्यक्तिलाई राष्ट्रपति बनाउने गरी अघि बढौं,” प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो । त्यसो हुन नसकेको खण्डमा दलबाटै राष्ट्रपति बनाउने विकल्पमा जान सकिने प्रचण्डको भनाइ छ ।
ओलीले भने पूर्वसहमति अनुसार नै जानुपर्ने अडान राखेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा नै राष्ट्रपति एमालेले पाउने सहमति भएअनुसार अघि जानुपर्ने ओलीको भनाइ थियो ।
भेटमा सरकार विस्तार, गठबन्धनलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।