अपि पावर र उपकार लघुवित्तको शेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले दुबै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गरेकाले फागुन ३ गतेसम्म कायम अन्तिम शेयरमूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । उपकार लघुवित्तको बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ७३७ को आधारमा प्रस्तावित ६१ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. २ हजार ३१० दशमलव ३६ तोकेको हो । त्यस्तै अपि पावरको बुधवार कायम अन्तिम शेयरमूल्य रू. २८६ को आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ७ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २६६ दशमलव शून्य ५ तोकेको छ ।
दुबै कम्पनीका फागुन ३ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य भएका छन् । अपि पावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनको लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १४ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १८ गते साधारण सभा बोलाएको छ ।