बालेनको रिटमा सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालतले समयमै निर्वाचन खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले गरेको जरिवानाविरुद्ध काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को रिटमा अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले शाहको पक्षमा अन्तरिम जारी गरेको हो।कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले अन्तरिम जारी गरेको हो।

आयोगले कानुन विपरीत आफूलाई जरिवाना गरेको भन्दै शाहले पुस १९ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए।आयोगले निर्वाचन खर्च बुझाउन दिएको समयसीमा ३० दिन भएको र ३०औँ दिनमा बिदा परेकाले अर्को दिन आफूले विवरण बुझाउँदा पनि जरिवानाको सूचीमा राखेको जिकिर शाहको छ। अन्तिम दिन बिदा परे भोलिपल्ट कायम हुने मान्यतालाई अदालतले नमानेको निवेदन जिकिर गरिएको छ।

साथै जरिवाना नबुझाए पद खारेज गर्ने र निर्वाचितबाहेकालाई ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने आयोगको निर्णय संविधानसम्मत नभएकाले बदरको माग शाहले गरेका छन्। सर्वोच्चले लिखित आदेश भने सार्वजनिक गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *