एमालेविरुद्ध नागरिक समाज उत्रिँदा अखिलले प्रतिवाद गरोस् : एमाले महासचिव शंकर पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वको सरकार हुँदा आवश्यक परेको बेला बचाउ गर्न अनेरास्ववियु सडकमा नआएको टिप्पणी गरेका छन्। महासचिव पोखरेलले आफ्नो नेतृत्वको सरकार हुँदा ‘कथित नागरिक समाज’ सडकमा आएर विरोध गर्ने हुँदा त्यस्तो अवस्थामा त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन्। अनेरास्ववियुको उद्‌घाटन सत्रमा बोल्दै महासचिव पोखरेलले उक्त टिप्पणी गरेका हुन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाअधिवेशन मंगलबार काठमाडौंमा सुरु भएको छ। राजधानीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गरेका हुन्।

सोही सत्रमा बोल्दै पोखरेलले एमाले नेतृत्वको सरकारमाथि नागरिक समाजले प्रश्न गर्दा अनेरास्ववियु त्यसको बचाउ गर्न सडकमा नआएको बताएका हुन्। ‘जतिबेला मुलुकका बुर्जुवा शासनमा हुने गर्छन्, यो समाजका कथित नागरिक समाजका अगुवाहरु सडकमा देखिने गर्दैनन्। बुर्जुवाहरुले जतिसुकै राष्ट्रहरुलाई बरबाद पारे पनि उनीहरु सडकमा आउने गर्दैनन्। तर, जति बेला देश र जनताका हितका पक्षमा, परिवर्तनका हितका पक्षमा काम गर्ने पार्टीका रुपमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्छ कथित नागरिक समाज सडकमा तमासा देखाउन आइपुग्छ,’ पोखरेलले भने, ‘त्यतिबेला अनेरास्ववियु सडकमा देखिनु पर्ने हो। देखिने गर्‍याछैन। अखिले त्यस्तो अवस्थामा वैचारिक प्रतिवाद गरोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *