राष्ट्रपति भण्डारीले आज संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्ने


राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ।

शुक्रबार अपरान्ह ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन्।  संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने  भन्ने व्यवस्था छ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *