मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ : नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने बताएकी छन् ।
“हाम्रा सबै प्रदेशसभा सदस्य काठमाडौंमै हुनुहुन्छ । हामी यो प्रक्रियामा तटस्थ बस्छौँ,” उनले बाह्रखरीसित भनिन्, “हामीले सहयोग नगर्दा आज मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्न, कांग्रेसको नेतृत्वमा स्वतः सरकार बन्छ । एक महिनाको समय फेरि हुन्छ । कांग्रेसलाई के गर्ने पछिको कुरा हो ।”
अध्यक्ष श्रेष्ठका अनुसार प्रदेशसभाको आजको बैठकमा पार्टीका सासंदहरू अनुपस्थित हुनेछन् ।
मुख्यमन्त्री रावलले प्रदेशसभाबाट विश्वासको मत लिने आज अन्तिम दिन हो । गएको पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यति बेला रावललाई नागरिक उन्मुक्तिले समर्थन गरेको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।