माओवादी स्थायी कमिटी बैठकको निष्कर्ष : रास्वपाले धैर्यता गर्नुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तत्काल गहृमन्त्रीको आश नगर्न अनुरोध गरेको छ ।
माओवादी स्थायी कमिटी बैठकपश्चात् बिहीबार सञ्चारकर्मीहरुसँग बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले रास्वपाले धैर्य गर्नुपर्ने बताए ।
“हाम्रो धारणा हिजो नै मैले भनिसकेँ । रविजीले धैर्यता गर्नुपर्छ । किनभने, विषय सकिएको छैन । फैसलाको पूर्णपाठ आएको छैन,” उनले भने, “मन्त्रिमण्डलमा के गर्ने ? निर्णय भने गर्न बाँकी छ ।”
‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई गृह मन्त्रालय दिनुपर्छ भनिरहेका छन्, यसले गठबन्धनमा असर गर्दैन ?’ भन्ने प्रश्नमा प्रवक्ता महराले ओलीको भनाइ नितान्त व्यक्तिगत भएको उल्लेख गरे । उनले ओलीको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नगर्ने पनि उल्लेख गरे ।