कैलाली २ बाट निर्वाचित अरुण चौधरी दोषी ठहर भएका फरार अभियुक्त

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अरुण चौधरी ट्र्याक्टर आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेका खुलेको छ। नागरिक उन्मुक्ति पार्टीबाट विजयी उनी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।
स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ। उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र बिर बहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरुले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए। उक्त विषयमा जाहेरी परेपछि उनीहरु तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए। तीनै जना प्रतिवादीहरुका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ।