प्रेम आचार्य प्रकरणप्रति रवीन्द्र मिश्रको टिप्पणी ,परिवर्तनका पक्षधरहरू असफल भए


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको प्रयासले आफूसहित परिवर्तनका पक्षधरहरू असफल भएको स्वीकार गरेका छन् ।

बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उक्त घटनालाई ‘परिवर्तनका लागि प्रयास गरिरहेकादेखि दशकौँदेखि नेतृत्वमा बसेकाहरूको परिणाम’ भनेका छन् ।

“‘म आमरण अनशन बस्ने योजनामा छु !’ प्रेमजी, तपाईंले अस्ति बिहान मलाई पठाएको सन्देश हो यो । तर, त्यसको केही घण्टाभित्रै दिउँससम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ,” मिश्रले लेखेका छन्, “तपाईंले आत्मदाहपूर्वको पत्रमा उल्लेख गर्नुभएझैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कैयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो ।”

उनले आचार्यको मृत्युले आफूलाई अत्यन्तै पीडा दिएको भन्दै समाज नै पतनमा गएको टिप्पणी गरेका छन् । “अत्यन्तै पीडा भएको छ, प्रेमजी ! इमानदारीपूर्वक भन्दा, नेपाली समाज इतिहासमै यति ‘पतित’ कहिल्यै भएको थिएन,” उनले लेखेका छन्, “विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरिबीबाट ग्रस्त थियो । तर, यो तहको ‘पतित–ता’ बाट ग्रस्त थिएन । त्यस्तो ‘पतित–ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ ।”मिश्रले आचार्यको आग्रहअनुसार उनकी श्रीमतीलाई सहयोग गर्न लागेको भन्दै देश–विदेशमा रहेका सहयोगीहरूलाई अपिल पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *