भ्रष्टाचारीहरूमाथि बालेनले जसरी डोजर चलाउने राप्रपाको इच्छा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको जिकिर गरेका छन् ।
नागरिक आयोग गठन गरेर ०४५ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति छानबिन गर्नुपर्ने उनले जिकिर गरे । लिङ्देनले पुराना नेताहरुलाई फेरि पनि प्रधानमन्त्री बनाए मुलुक बन्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले यसअघि पटकपटक प्रधानमन्त्री बन्दा देश बनाउन नसक्नेहरु पुनः निर्वाचित भए देश बन्न नसक्ने भन्दै यसमा मतदाताले विशेष ख्याल गर्नुपर्ने बताए ।
अहिलेको निर्वाचन प्रणाली निकै महङ्गो भएकाले यसलाई परिवर्तन गर्दै पूर्ण समानुपातीक संसद्, जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री र अभिभावकीय रुपमा राजा हुने व्यवस्था लागु हुनुपर्ने लिङ्देनले धारणा राखे ।