‘अबको नेपाल हाक्ने युवा प्रदीप, गगन, विश्वप्रकाश’: डा. स्वर्णीम वाग्ले
अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता डा. स्वर्णीम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरूले अब युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।
बुद्धिजीवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा। वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् ।
कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरूको खाँचो संसद्मा रहेको बताए । गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरूको हातेमालो गरेर अघि बढ्नुपर्ने डा। वाग्लेको धारणा रहेको छ ।
उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली कांग्रेसमा आशालाग्दा केही अनुहारहरू हुनुहुन्छ । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौँ । उहाँहरु अब उभिएर निर्वाचित भएर काठमाडौं-५, काठमाडौं-४ र झापा-१ बाट आएर चाँहि तमाम युवाको प्रतिनिधित्व गर्नुहोस् । तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस् ।’
त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेण्डाहरूलाई बोकेर हिँड्नुपर्नेमा जोड दिँदै हजारौं लाखौँ अन्य पेशा व्यवसाय गर्ने युवाहरूलाई उत्साहित गर्नुपर्ने बताए । त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागि समेत तीन युवाहरूले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए ।
‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ ।’ डा। वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेण्डामा अब उनीहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ ।’ त्यसैगरी काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेदवारहरूलाई जितको शुभकामना समेत व्यक्त गरेका छन् ।