रवि लामिछाने भन्छन्- धन्यवाद, अब समृद्धिको भारी हामी बोक्छौं


राष्ट्रिय स्वरतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो पुस्ताले व्यवस्था परिवर्तनका लागि संघर्ष गरेकोमा धन्यवाद दिँदै समृद्धिको भारी आफूहरुले बोक्ने बताएका छन्। उक्त पुस्तालाई समृद्धिको भारी ‘बोझ’ भएको उल्लेख गर्दै लामिछानेले त्यसका लागि आफूहरु अघि सरेको बताए।

पार्टीको चुनावी ‘वाचा पत्र’ (घोषणापत्र) सार्वजनिक गर्दै उनले भने, ‘अघिल्लो पुस्ताले परिवर्तनका लागि संघर्ष गर्‍यो। त्यसप्रति सम्मान छ। समृद्धिको सपना पनि उनीहरुको काँधमा हालेर ठूलो भारी त बोकाएनौं? त्यो भारी हाम्रो पुस्ताले बोक्न चाहन्छ। हामीले निर्धक्कक बोल्ने यो अवस्थाक ल्याइदिएकोमा धन्यवाद।’

सुशासनका विषयमा सरकार बाहिर हुँदा मात्रै कुरा गर्ने गरेको बताउँदै देशमा प्रतिपक्ष पार्टी नभएको उनको दाबी थियो। उनले त्यसको अभाव पूरा गर्न आफूहरु आइपुगेको बताए।

उनले राज्यका कुनै पनि अंग राम्रोसँग नचलेको बताउँदै भने, ‘ राज्यका चार खम्बा (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र मिडिया) कुन चाहिँ सही ढंगमा उभिएका छन्?’

बेथिति कसैले रोक्न नसकेकाले आफूहरु अघि आउनुपरेको उनको जिकिर थियो। थपे,  ‘हाम्रो देशमा विद्वानको कमी छैन। विश्लेषकभन्दा कमी छैन। जानेको मान्छेको कमी छैन। तर बेथिति कसैले रोक्न सक्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *