काठमाडौं महानगरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम हुने

मतदाता शिक्षाका लागि काठमाडौं महानगरपालिकाले वडास्तरीय ‘मतदाता शिक्षा सञ्चालन समिति’ गठन गरेर संयोजकहरूलाई आज अभिमुखीकरण सम्पन्न गरेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको संयोजकत्वमा रहेको ‘स्थानीय तह स्तरको मतदाता शिक्षा समन्वय समिति’को बैठकले वडा सचिवको संयोजकत्वमा शिक्षा सञ्चालन समिति गठन गरेर अभिमुखीकरण सञ्चालन गरेको हो। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन शिक्षा कार्यक्रमअन्तर्गत प्रशासन विभागले अभिमुखीकरण सम्पन्न गरेको हो।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदाता शिक्षा कार्यक्रम निर्देशिकाबमोजिम मतदाता शिक्षा हेर्ने आयुक्तको संयोजकत्वमा ८ सदस्यीय निर्देशक समिति, निर्वाचन आयोगका सचिवको संयोजकत्वमा ९ सदस्यीय कार्यान्वयन समिति र सचिवकै सयोजकत्वमा ८ सदस्यीय जाँचबुझ तथा अनुगमन समिति गठन गर्ने व्यवस्था छ।
यसैगरी, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरीय समिति, पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ४ सदस्यीय स्थानीय तह स्तरको समन्वय समिति र वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा सञ्चालन समितिको व्यवस्था छ।