स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज हुंदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो १ बजे बस्ने बैठकलाई सबैले चासोका साथ हेरेका छन्। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकमा आफ्ना केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको थियो।
राष्ट्रपती विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाका नेताहरुले आपत्ति जनाएका छन्। अधिकांश नेताहरूले तत्काल अध्यादेश फिर्ता लिन आग्रहसमेत गरिरहेका छन्।
यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि ओलीको उक्त कदमको विरोध गरेको छ। पार्टीभित्रको विवाद समाधान गर्नुको सट्टा अध्यादेश ल्याएपछि ओलीसहित राष्ट्रपतिको समेत आलोचना हुन थालेको छ।
यसअघि पनि सरकारले राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएकोमा विरोध भएपछि फिर्ता गरेको थियो।