कांग्रेसको निर्वाचन घोषणपत्र : यस्ता छन् कांग्रेसले नगर्ने प्रतिज्ञा गरेको कामको सूची
नेपाली कांग्रेसले आफ्नो चुनावी ‘संकल्प पत्र’मा आफूले नगर्ने कामको पनि सूची प्रस्तुत गरेको छ। शनिबार सार्वजनिक संकल्पपत्रमा उसले प्रतिनिधि सभा विघटन नगर्नेदेखि स्वार्थले द्वन्द्व हुने निर्णय प्रक्रियामा सहभागी नहुनेसम्मका ९ प्रतिज्ञा प्रस्तुत गरेको हो।
‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं’, प्रतिज्ञापत्रमा भनिएको छ।
कांग्रेसले सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन नगर्ने र गर्न नदिने प्रतिज्ञा गरेको छ। उसले कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने भनेको छ।
यस्ता छन् कांग्रेसले नगर्ने प्रतिज्ञा गरेको कामको सूचीः
–दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौ
-सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन गर्दैनौं, गर्न दिने छैनौं
-कानूनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्ने छैनौं
-निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौं, गर्न दिने छैनौं
-कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व र अनुशासनको उल्लंघन गर्दैनौं, गर्न दिने छैनौं
-महिलामाथि हुने हिंसा, जातीय भेदभाव, छुवाछुत, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुनै पनि कुरामा प्रत्यक्ष तथा परोक्ष
रूपमा समेत संलग्न हुने छैनौं
-स्वार्थले द्वन्द्व सृजना हुने कुनैपनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न हुने छैनौं
-संविधानको मर्म र भावना विपरीत प्रदेश र स्थानीय सरकारका अधिकारमा अवाञ्चित हस्तक्षेप गर्ने छैनौं
-अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, वैदेशिक सहयोग र रूपान्तरणकारी ठूला विकास परियोजनालाई क्षणिक लाभका लागि राजनीतिकरण गर्ने छैनौं।