ओलीले चुनाव लड्न गरेको अफर स्वर्णिम वाग्लेले किन गरे अस्वीकार ?

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा (एमाले)ले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उमेदवारी दिन आग्रह गरेको बताएका छन् । अर्थविद् वाग्लेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको खुलासा गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए ।
“टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्नसक्छु । काठमाडौं ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ कांग्रेसको उमेदवार पनि छैन, एमालेले तपाईंलाई सहयोग गर्छ, तपाईं शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो । रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो । कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्सन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न । मेरो तीन पुस्ते कांग्रेस नै हो,” उनले भने ।
उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएकाले आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए ।