आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तासमक्ष प्रचण्डको आग्रह
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तासमक्ष आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए ।
नेकपा (एमाले)प्रति लक्षित गर्दै प्रचण्डले संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरितिर फेरि धकेल्ने शक्तिहरुले कसरतहरु गरिरहेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे ।
देशमा पश्चगमन र अग्रगमनको दुईवटा विचार र प्रवृत्ति देखा परेको भन्दै प्रचण्डले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए । उनले आगामी निर्वाचनमा गठबन्धनका उमेदवारहरुलाई जिताउन आग्रह गर्दै गठबन्धनविरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे ।