म्याग्दीमा दसैँमा भित्रियो ४० करोड रेमिट्यान्स


म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएकाबाट दसैँमा मात्रै ४० करोडभन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध)को अष्टमी तिथिदेखि दसैँको फुलपातीको अघिल्लो दिनसम्म चालीस करोड १३ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन् । जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन ।

जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घरखर्च, लत्ता कपडालगायत अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

यहाँका बैंक तथा वित्तीय संस्थाले सदरमुकाम बेनी बजारसहित जिल्लाका सबै छवटै  स्थानीय तहमा शाखा सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाहमा भएको वित्तीय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ ।

म्याग्दीमा करिब ६० प्रतिशतभन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ । कतार, साउदी अरब, यूएई, दक्षिण कोरिया, जापान, भारत, मलेशियालगायत विभिन्न देशबाट रकम भित्रिने गरेको छ ।

जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि यहाँ वार्षिक करिब चार अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको भए पनि विभिन्न माध्यमबाट सो रकम बाहिरिने गरेको छ । म्याग्दीको प्रमुख आयस्रोत नै रेमिट्यान्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *