गठबन्धनप्रति ओलीको आक्रोश,यो अलोकतान्त्रिक र तानाशाही सरकार हो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनमा हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन्। शनिबार धनुषाको तिनकोरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकार र गठबन्धनप्रति आक्रोश पोखेका हुन्।‘कोही प्रहरी गठबन्धनतिर लाग्दैन भने त्यो प्रहरी सक्छ। यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ। कर्मचारी सरुवा गरेको छ। गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने, कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गर्ने कस्तो सरकार हो?’, ओलीले भने, ‘यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी, भ्रष्टाचारी सरकार हो। त्यसैले यो सरकारको कुकर्महरु रोकेर यसलाई पराजित गर्ने उत्तरदायित्व हाम्रो हो।’
ओलीले निर्वाचनमा धाँधलीको व्यूह रचना नगर्न चेतावनी दिए। ‘सरकारलाई धाँधलीको व्यूह रचनाहरुका तयारी नगर्न सुझाव दिँदै चेतावनीको भाषामा भन्न चाहन्छु, यस देशलाई खुनखराबामा लैजान, हिंसामा लैजान, अलोकतान्त्रिक र तानाशाही बाटोमा लैजान दुष्चेष्टा गठबन्धनले नगरोस्। म चेतावनीका साथ भन्न चाहन्छु।