चाडपर्व लक्षित सुरक्षा रणनीति : उपत्यकामा तीन हजार ३४३ प्रहरी खटिने
चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार ३४३ प्रहरी परिचालन गरिने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार देखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिए ।
प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाया दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको बताए ।
अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी परिचालन गरिने भएको छ ।