नान्मादोल आँधीका कारण जापानमा ४० लाख मानिस घर छाडेर सुरक्षित स्थानमा
जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।
नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन् ।आइतवार बिहान क्युशुको दक्षिणी शीर कागोशिमा सहरनजिकै अवतरण भएको आँधीका कारण एक करोड ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको क्युशुमा सामान्य जनजीवन प्रभावि बनेको हो । उक्त द्वीप जापानका चार मुख्य टापुमध्ये सबैभन्दा दक्षिणमा पर्छ।
अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन ‘विशेष सूचना’ जारी गरेका छन् । ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।


