साउन महिनामा एक करोडभन्दा बढिको मागदावी सहित दुई वटा सहकारी विरुद्ध उजुरी


चालु आर्थिक वर्षको पहिलो साउन महिनामा एक करोडभन्दा बढिको मागदावी सहित सहकारी विरुद्ध उजुरी परेको छ । काठमाडौं महानगरभित्रका सहकारी नियमन गर्ने निकाय सहकारी विभागमा दुई वटा सहकारी संस्थाले बचतकर्ताहरुको पैसा हिनामिना गरेको उजुरी परेको हो ।

विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले चालु आवमा महानगरभित्रका दुई वटा सहकारी संस्था विरुद्ध बचतकर्ताको पैसा हिनामिनाको उजुरी परेको जानकारी दिए । उनका अनुसार एक करोड ३८ लाख ८७ हजार ९४४ रुपैयाँको मागदावी सहित ४३ बचतकर्ताले विभागमा उजुरी दिएका हुन् । उजुरी परेका सहकारीमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था र सुख समृद्धि बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

पछिल्ला दिनहरुमा धेरै सहकारी विरुद्ध उजुरी पर्न थालेपछि सहकारीहरु पनि सचेत हुने थालेको सहकारी विभागका निर्देशक पोखरेलले  बताए । उनले भने, ‘पछिल्ला दिनहरुमा सहकारी क्षेत्रमा धेरै समस्या देखिन थालेको छ । बचतकर्ताहरु ठगिएको भन्दै ठुला सहकारी विरुद्ध पनि विभागमा पनि धेरै उजुरी आउन थाले । तर, अहिले सहकारीहरु पनि केही सचेत हुँदै गएका छन् ।’

सहकारीहरु समस्याग्रस्त बन्दै जानुमा आर्थिक संकट र बजारमा तरलता अभाव हुनपनि मुख्य कारण रहेको विज्ञहरु बताउँछन् । वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव सहकारीले लगानी गरेको पैसा समयमा उठ्न नसक्ने अवस्था सिर्जना भयो । सहकारी संस्थाहरूले आफ्नो शेयर सदस्यहरूलाई दिएको ऋण उनीहरूको व्यापार ठप्प हुँदा उठ्न सकेन । लगानी गरेको पैसा समयमा नउठ्दा  तरलताको चाप सहकारीमा परेको विज्ञहरुको भनाई छ ।

केही ठूला सहकारीहरूले बढी ब्याज दिने लोभमा बचतकर्ता तान्ने गरेको विज्ञहरु बताउँछन् । बढी पैसा पाइन्छ भन्ने आशमा सर्वसाधारणले पैसा राख्दा केही सहकारीहरूले उनीहरूको पैसा गलत ढङ्गले चलाएको उदाहरणहरू पनि रहेका छन् । औलामा गन्न सक्ने यस्ता सहकारीका कारण अन्य सहकारी क्षेत्रमा पनि असर देखिएको छ ।

कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भनेपनि चालु आवको साउन महिनामा नै पाँच वटा सहकारीहरु कालोसूचीमा परेका छन् । सहकारीमा देखिएका पछिल्ला घटनाक्रमलाई हेर्ने हो भने धेरैजसो सहकारीहरु समस्याग्रस्त बन्दै गएका छन् । सहकारी क्षेत्रमा देखिएका विकृति र समस्याहरुलाई कम सहकारी विभागले नयाँ निर्देशन समेत जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *