वन मन्त्रालयमा नमुना काम गरेर देखांउछौं: वनमन्त्री यादव
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताएका छन् ।
आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफू विकासको बाधक नभएको बताए ।‘म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जतिदिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु,’ उनले भने ।
यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएको बताए ।
‘रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास गर्यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन्, मन्त्री यादवले थपे, ‘हामी गाली सहेर भए पनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।’
मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवम् पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता जनाए ।