आकाशिंदो तरकारीको मूल्य,मर्कामा सर्वसाधारण
पछिल्लो समय तरकारीको मूल्य निरन्तर बढिरहेको छ । लगातार तरकारीको मूल्यवृद्धि हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय हरियो तरकारीको मूल्य लगातार बढिरहेको छ । वर्षाका कारण अधिकांश ठाउँबाट तरकारी कम मात्रामा आइरहेको तथा आन्तरिक उत्पादन घटेकाले काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढेको बताइएको छ ।
दुई हप्ताको तरकारीको मूल्य सूची हेर्दा तितेकरेलाको मूल्य १५७ प्रतिशतसम्म बढेको छ । समितिका अनुसार दुई हप्तामा सबैभन्दा धेरै तिते करोलाको मूल्य १५७.१४ प्रतिशतले वृद्धि भएर प्रतिकेजी ४५ रुपैयाँ पुगेको छ । गत साउन २० गते प्रतिकेजी १७.५० रुपैयाँ रहेको तितेकरेकाको मूल्य हिजो (भदौ ३ गते) ४५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, धनियाँको मूल्य पनि निरन्तर बढ्दै गएको छ । दुई हप्ताको अन्तरालमा धनियाँको मूल्य १३४.३८ प्रतिशतले वृद्धि भएको छ । आज धनियाँ प्रतिकेजी ४५० रुपैयाँमा खरिद भएको समितिको तथ्यांक छ ।