गुराँस लाइफ इन्स्योरेन्सले कमायो साढे १७ करोड नाफा
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १७ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. १२ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४४ दशमलव २७ प्रतिशत बढी खुद नाफा गरेको हो ।
कम्पनीले गत वर्ष २७ दशमलव २३ प्रतिशत बढी आम्दानी गरेको छ भने ४ दशमलव ५७ प्रतिशत कम खर्च गरेको छ । कम्पनीले रू. २३ करोड ७२ लाखभन्दा बढी आम्दानी गर्दा रू. ६ करोड २० लाखभन्दा बढी मात्र खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४२ लाख ५० हजार रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट साउन ३१ गते कुल ७ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ ।
कम्पनीले ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रकृयामा रहेका छन् । चौथो त्रैमाससम्म गुराँस लाइफको जगेडा कोष रकम रू. ५८ करोड ७४ लाखभन्दा बढी रहेको छ भने जीवन बीमाकोषमा रू. १२ अर्ब ४५ करोडभन्दा बढी छ ।
कम्पनीले गत वर्ष रू. ३ अर्ब ८ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. १ अर्ब ६६ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षभन्दा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ दशमलव १३ प्रतिशत कम भएको हो भने कुल दाबी भुक्तानी रकम १४३ दशमलव ८६ प्रतिशत बढी भएको हो । यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ७८ रहेको छ ।