वर्तमान सरकारले देशको हित र विकासमा कुनै काम गर्न नसकेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याए पनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाएका हुन्।
उनले यसअघिको एमाले सरकारले विभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगाएका विभिन्न आयोजनाको शिलान्यास गरे पनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको बताए।
आफू प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरे पनि अहिलेको सरकारले आफ्नो भूभागलाई समस्याका रूपमा चित्रण गरेको उनको भनाइ छ । ओलीले मुलुकको विकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गरे। आफ्नो पार्टीले सदैव युवाहरूलाई अवसर दिएको भन्दै ओलीले युवाहरूले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राखे। उनले आफू सदैव देशका लागि समर्पित भएको र बाचुन्जेल देशको सेवा गर्ने बताए।