कार्यदलको बैठक : सिट बाँडफाँटको ‘बटमलाइन’सहित सोमबार छलफल गर्ने
सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देव गुरूङले जानकारी दिए ।
कार्यदलमा पार्टीहरूबीच सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको उनले बताए ।
‘सिट बाँडफाँटका लागि स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने कुरा छ । विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन । केही दल पहिले अस्तित्वमा थिएनन् । अहिले उनीहरूलाई पनि सिट दिनुपर्नेछ,’ गुरूङले भने ।चुनावमा सिट बाँडफाँटबारे गठबन्धनमा रहेका दलहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर आगामी ३० गते अर्को बैठक बस्ने सहमति भएको पनि उनले जानकारी दिए ।