५ महिनापछि अघि बढ्यो चोलेन्द्रविरुद्धको महाभियोग
प्रतिनिधि सभाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग समितिमा पठाएको छ।संसद्ले गठन गरेको ११ सदस्यीय महाभियोग छानबिन समितिमा पठाउने प्रस्ताव आइतबारको प्रतिनिधि सभा बैठकको बहुमतले पारित गरेको हो।
फागुन १ गते जबराविरुद्ध सत्तापक्षका सांसदहरुले महाभियोग दर्ता गरेका थिए। नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङको नेतृत्वमा ९८ सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गरेसँगै उनी निलम्बनमा परेका थिए।
सर्वोच्च अदालतमा भ्रष्टाचार भएको, न्यायीक विचलनमा परेको र आफन्तमार्फत् विचौलिया गराएको लगायत २१ आरोप लगाइएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले जबराविरुद्धको महाभियोगमा सामान्य छलफल गराउँदै समितिमा पठाउने प्रस्ताव निर्णयका लागि प्रतिनिधि सभामा बैठकमा पेस गरेका थिए।
बहुमत सांसदहरुले ‘हुन्छ’ भन्दै प्रस्तावमा सहमति जनाएपछि सभामुख सापकोटाले उक्त प्रस्ताव समितिमा पठाएका हुन्।
अब समितिले ३ महिनाभित्र जबरामाथि लागेको आरोपमा छानबिन गरेर प्रतिवेदन बुझाउनुपर्ने छ। सर्वोच्चका प्रधानन्यायाधीशमाथि महाभियोगका लागि छानबिन समितिले काम गर्न लागेको यो पहिलो पटक हुनेछ।